आफ्नो दाजुको हत्यारासँग ‘बदला’ लिन खोज्दा भारतमा एक युवती पक्राउ परेकी छिन्। भारतीय पुलिसले हत्या प्रयासमा ती युवतीसहित ५ जनालाई पक्राउ गरेको छ।
सञ्चारमाध्यमका अनुसार २०२० जूनमा मुम्बइको मलाड क्षेत्रमा पार्किङको विषयमा दुई गुटबीच भिडन्त भएको थियो। सो भिडन्तमा मोहम्मद सादिक नाम गरेका युवकले २४ वर्षका अल्ताफ शेखको हत्या गरेका थिए। मारिएका युवा यासमिनका दाजु थिए।
दाजुको हत्यारा थाहा पाएपछि यासमिनले मोहम्मदसँग हत्याको बदला लिने योजना बनाइन्। त्यसपछि उनले दाजुको हत्यारालाई पहिले प्रेममा फसाइन्। त्यसपछि ती युवकलाई भेट्न बोलाइन्। युवक भेट्न आएपछि आफ्नो साथीहरुको साथ लिएर ती युवकको अपहरण गरेर जंगल लगिन्। त्यहाँ ती युवाको हत्या गर्ने प्रयास गरियो। तर, एक स्थानियको सुचनाका आधारमा पुलिस त्यहाँ पुग्यो र अभियुक्तहरुलाई प्रक्राउ गर्याे।
घटनाक्रम यसरी अघि बढ्योः
युवकको हत्यापछि सादिक दिल्ली भागे। यासमिनले सादिक खोजी शुरु गरिन्। यासमिनले अल्ताफका साथीहरुलाई मालवानी इलाकामा भेटिन्। त्यहाँ सादिकलाई हनीट्रयापमा फसाएर मार्ने योजना बन्यो। यसको लागि यासमिनले फेक इन्स्टाग्राम अकाउन्ट बनाइन् र सादिकसँग कुरा गर्न शुरु गरिन्।
यस क्रममा उनले सादिकसँग प्रेमको नाटक गरिन् र विस्तारै उनलाई आफ्नो प्रेमजालमा फसाइन्। प्रेमको नाटक गर्दै उनले सादिकलाई मुम्बइ भेट्न बोलाइन्। यासमिनको पटक–पटकको अनुरोधपछि १ हप्ता अघिमात्र सादिक यासमिनलाई भेट्न दिल्लीबाट मुम्बइ पुगे।
यही शनिबार यासमिनले सादिकलाई मुम्बइको छोटा कश्मिर क्षेत्रमा भेट्न बोलाइन्। तर, त्यहाँ यासमिन र अलताफका ५ जना साथीहरु सादिकलाई पर्खेर बसे। जब सादिक त्यहाँ पुगे, पाँचैजनाले मिलेर सादिकलाई अपहरण गरेर एम्बुलेन्समा हाले। उनीहरुले सादिकलाई वसइ नायगांव क्षेत्रको जंगलमा लगेर मार्ने र उनको शव त्यतै व्यवस्थापन गर्ने योजनाअनुसार बनाएका थिए।
तर, अपहरणको क्रममा एक स्थानीयले उनीहरुले सादिकलाई जबरजस्ती एम्बुलेन्समा हालेको देखेका थिए। ती स्थानीयले पुलिसलाई खबर गरिदिए। प्रहरी घटनास्थल पुग्यो। पुलिसले यासमिन र अन्य ५ लाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ। पुलिसले सादिकलाई पनि हत्याको आरोपमा हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।