अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध होबार्ट हुरिकेन्सले पाँचौ हार बेहोरेको छ। मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोर्चर्ससँग ९ विकेटले पराजित भएको हो।
होबार्टले दिएको १ सय ४० रनको लक्ष्य पर्थले १६.२ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो। पर्थको लागि जासोन रोयले ७४ रन बनाउँदा लायम लिभिङ्टोनले ५४ रनको योगदान दिए। त्यस्तै, जोश इंग्लिसले ७ रन बनाए।
हाबार्टको बलिङमा स्कट बोल्याण्डले एक विकेट लिँदा अन्य बलरहरु निरिह भए।
त्यसअघि पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो। उसको लागि डी’आर्सी शटले ५४ रन, टिम डेविडले ३१ रनको योगदान दिए। कोलिन इन्ग्रामले १८ तथा पेटर ह्याण्डकम्बले १३ रन बनाए।
बलिङमा पर्थका आरोन हार्दीले २ विकेट लिए। हारसँगै होबार्ट तालिकाको पाँचौ स्थानमा झरेको छ। होबार्टको १० खेलबाट १९ अंक छ। ९ खेलबाट २५ अंक जोड्दै सिड्नी सिक्सर शीर्षस्थानमा छ। दोस्रो स्थानमा सिड्नी थन्डर र तेस्रो स्थानमा पर्थ रहेको छ।
सन्दीपको प्रदर्शन :
होबार्टको लागि सन्दीपले मंगलबारको खेलमा विकेट लिन सकेनन्। उनले ३ ओभर बलिङ गर्दै २३ रन खर्चिएका थिए। त्यसक्रममा उनले ४ चौका दिएका थिए।
यस सिजन सन्दीपले बीबीएलमा ४ खेल खेलिसकेका छन्। ४ खेलमा उनले ४ विकेट लिएका छन्। बीबीएलकाे यस सिजन १५ ओभर बलिङ गरिसकेका सन्दीपले ३२ डट बल फाल्दै १ सय २० रन दिएका छन्। उनको इकोनोमी दर ८ रहेको छ।