इटालियन लिग ‘सिरी ए’ फुटबलमा जारी सिजन करिब आधा खेलहरु सकिएका छन्। लिगमा १७ खेल खेलेको एसी मिलान ४० अंकको साथ शीर्षस्थानमा रहेको छ।
समान खेलबाट समान ३७ अंक बटुलका इन्टर मिलान र रोमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। युभेन्टस १६ खेलबाट ३३ अंकको साथ चौथो स्थानमा छ।
लिगमा ५० प्रतिशत खेल सकिएको अवस्थामा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्। लिगमा उनले १३ खेलबाट १५ गोल गरिसकेका छन्। सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रोमेलु लुकाकु छन्। उनले १६ खेलबाट १२ गोल गरेका छन्। ११ गोलका साथ लाजियोका सिरो इमोबाइल तेस्रो स्थानमा रहेका छन्।
टोलीले १६ खेल खेलिसक्दा रोनाल्डोले १३ खेलमात्र खेलेका छन्। सिरी ए मा यस सिजन रोनाल्डोको खेलभन्दा गोल संख्या धेरै छ। सर्वाधिक गोलकर्तामा उनले ३ गोलको अग्रता बनाएका छन्। सिजनको अन्त्यसम्म उच्च लयलाई जारी राखे उनी सिरी ए को सर्वाधिक गोलकर्ता बन्न सक्छन्।
गत सिजन सिरो इमोबाइल सिरी ए को सर्वाधिक गोलकर्ता बनेका थिए। उनले सो सिजनमा ३७ खेलबाट ३६ गोल गरेका थिए।
सन् २०१८ मा युभेन्टसमा आबद्ध भएका रोनाल्डोलाई यस वर्ष सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। अघिल्लो सिजन रोनाल्डोले ३३ खेलबाट ३१ गोल गरेका थिए। सिजन २०१८–१९ मा उनले ३१ खेलबाट २१ गोल गरेका थिए।
र याे पनि,
युभेन्टसले ‘सिरी ए’ को उपाधि नजित्ने दाबी, इन्टर मिलानको सम्भावना बलियो भएको निष्कर्ष