प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्ना छिमेकी देशहरुसँग तटस्थताको नीति लिएको स्पष्ट पारेका छन्। भारतीय टेलिभिजन जी न्यूजसँगको अन्तर्वातामा उनले नेपालले भारत र चीनसँग मित्रवत् सम्बन्ध चाहेको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष वा पिवक्षमा नउभिने बताएका छन्। ‘हामी कुनै पनि मुलुकको पक्ष वा विपक्षमा उभिँदैनौं,’ उनले भने, ‘नेपाल तटस्थताको नीति लिन्छ।’
सार्वभौम राष्ट्रको हिसाबले नेपाल र भारतकोबीचमा बराबरी सम्बन्ध रहेको बताउँदै ओलीले दुई देशबीच बराबरी हैसियतको सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले चीन र भारतसँग समदुरीको सम्बन्ध रहेको बताउँदै नेपाल कसैको पक्ष वा विपक्षमा नलाग्ने प्रष्ट पारे।
भारतको अन्तर्राष्ट्रिय सिमा विवाद तथा गलवान र लद्दाखको विषयमा सम्वादका लागि दुई देशलाई आग्रह गर्न सक्ने बताउादै ओलीले आपसी मित्रवत् सम्बन्धबाट समस्याको निकास निकाल्न भारतलाई आग्रह गरे।
नेपाल भारतबीचको सीमा विवाद पनि समाधान उन्मुख रहेको बताउँदै ओलीले अरुको भूभागमा नेपालले दाबी नगर्ने र आफ्नो भूमि नछोड्ने स्पष्ट पारेका छन्।