प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ। यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन्।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले बुधबार नयाँ संवैधानिक इजलास बनाएको छ। यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका हुन्।
इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ। न्यायाधीश प्रधान संविधान सभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी २०७३ सालमा सर्वोच्चको अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्।