गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वाता लिने भारतीय न्यूज च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान शुरू गरेकाे छ।
सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले स्थकाला पत्थरबाट स्थलगत रिपोर्टसहित सगरमाथाबारे विवादित सामग्री प्रसारण गरेका छन्।
उनले सन् १८५२ को घटनाबारे पनि जानकारी दिएका छन्। उनी भन्छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए। सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो। उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस्।’
उनले कार्यक्रममा भनेका थिए, ‘राधानाथ सिकदर भारतका महान गणितज्ञ थिए। उनले सन् १८५२ मा पहिलो पटक विश्वकै सबैभन्दा अग्लो हिमालको उचाइ नापेका थिए। तर अंग्रेजहरुले उनलाई यसको श्रेय दिएनन्। यस पर्वतको नाम जर्ज एभरेस्टको नाममा राखियो। जसले न त कहिल्यै एभरेस्ट देखेका थिए, न त उनलाई यसका बारेमा जानकारी नै थियो। त्यसैले आज हामी माग गर्छौं कि माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर राख्नुपर्छ।’
उनले यसबारेमा छ महिनाअघि पनि रिपोर्ट बनाएका थिए। यससँगै नेपालमा जी न्यूजका प्रधान सम्पादक चाैधरीकाे चर्काे विराेध भइरहेकाे छ। सामाजिक अभियानता तथा आम नागरिकले चाैधरीले प्रसारण गरेकाे सामाग्री र जी न्यूजकाे अभियानप्रति आपत्ति व्यक्त गरिरहेका छन्।