बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पुनलाई आज अपराह्न ३:०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए।
विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।