नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीमाथि संगीन आरोप लागेको छ। मुद्रा व्यवस्थापन विभागमा कार्यरत रहँदा राष्ट्र बैंकको ढुकुटीबाट अवैध रुपमा रकम चोरी गरेको आरोप शिवाकोटीमाथि लागेको हो।
नेपाल राष्ट्र बैंकमा पूर्व कार्यकारी निर्देशक एवं मुद्रा व्यवस्थापन विभागका पूर्व प्रमुख लक्ष्मीप्रपन्न निरौलाले पनि आफू जिम्मेवारीमा रहँदा गभर्नर र डेपुटी गभर्नरबाट ‘अनावश्यक’ दबाब आउने गरेको बताएका थिए।
यद्यपि, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल र डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको विषयमा अख्तियार दुरुपयोग आयोगमा परेको उजुरीमा उनीहरूमाथि पैसा चोरीको संगीन आरोप लगाइएको छ।
नेपाली पब्लिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त उजुरीको ‘हार्डकपी’मा राष्ट्र बैंकका कयौं अवैधानिक कर्तुतका विषयमा खुलासा गरिएको छ। यद्यपि, २०७६ साउनमा परेको उक्त उजुरी अनुसन्धान गर्नुको साटो अख्तियारका तत्कालीन प्रमुख नवीनकुमार घिमिरे, राष्ट्र बैंकका पूर्व गभर्नर नेपाल, डेपुटी गभर्नरद्वय शिवाकोटी र श्रेष्ठको सेटिङमा ‘तामेली’मा राखिएको छ।
के भनिएको छ उजुरीमा?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा देशको केन्द्रीय बैंकले अन्य बैंकको निगरानी राख्ने भए पनि नेपाल राष्ट्र बैंक आफैभित्र अनवरत रुपमा जलानका लागि तयार भएका झुत्रा नोट र अन्य सुकिला नोट समेत गरी उल्लेख्य मात्रामा नोटहरू चोरी भइरहेको उल्लेख गरिएको छ।
‘सेटिङ मिलाएर गरिने यस्तो चोरीमा गभर्नर चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको समेत संलग्नता, आडभरोसा रहेको छ,’ उजुरीमा भनिएको छ।
हाल डेपुटी गभर्नरमा कार्यरत चिन्तामणि शिवाकोटी डेपुटी गभर्नर हुनुअघि मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहेको उल्लेख गर्दै उजुरीमा उनले डेपुटी गभर्नर हुनका लागि जलाउने नोट र अन्य नोट समेत नेताकहाँ पुर्याएको आरोप लगाइएको छ।
शिवाकोटीले २०७६ चैत्रदेखि रिक्त हुने गभर्नर पदका लागि नोट विभाग र शाखा कार्यालयहरूमार्फत् नोट चोरी गरेर बालुवाटार पुर्याएको आरोप उजुरीमा लगाइएको छ। तर, गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भए।
नोट विभागका तत्कालीन कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई आगामी पुसबाट खाली हुने डेपुटी गभर्नर पदमा नियुक्ति गराउने आश्वासन शिवाकोटीले दिएको उजुरीमा उल्लेख छ।
‘अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि यस मामिलामा कम छैनन् । उनले पनि कर्मचारीहरूको संलग्नता गराई पैसा चोरी गरिरहेका छन्, नोट विभाग र शाखा कार्यालयहरूमा पैसा चोरीको गिरोह नै संलग्न छ,’ उजुरीमा भनिएको छ।
नोट विभाग र शाखा कार्यालयहरूमा सबै तह र तप्कामा आ–आफ्ना अनुकूलका पदाधिकारी र कर्मचारीहरूको सेटिङ मिलाएर पैसा चोरी गर्ने गरिएको उजुरीमा उल्लेख गरिएको छ। ‘राष्ट्र बैंकको ढुकुटीबाट डेपुटी गभर्नर शिवाकोटीले नै पैसा चोरेका छन्, अरु पदाधिकारीहरू पनि यस कार्यमा संलग्न रहेका छन्, छानवीन होस्,’ उजुरीमा भनिएको छ।
याे पनि पढ्नुहाेस् :
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र अख्तियार प्रमुखको ‘सेटिङ’मा नोट चोरीको फाइल गायब