स्पेनिस सुपर कप फुटबलअन्तर्गतको सेमिफाइनल खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा सोसिडाडविरुद्ध नाटकीय जीत निकाल्दै बार्सिलोना सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
स्पेनको अर्चेन्जल रंगशालामा भएको खेलको निर्धारित समयमा दुबै टोलीले एक –एक गोलको बराबरी खेलेका थिए। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थपिएको समयमा कुनै पनि टोली गोल गर्न सकेन र खेल पेनाल्टीमा गयो।
टाइब्रेकरमा रियल सोसीडाडमाथि ३–२ को जित दर्ता गर्दै बार्सिलोना फाइनलमा पुगेको हो। खेलको ३९ औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डि जोङको गोल गरेका थिए। एन्टोइन ग्रिजमनको क्रसमा डे जोङले हेडरमार्फत गोल गर्दै उनले बार्सिलाेनालाई अग्रता दिलाए।
दोस्रो हाफको सुरुवातमै सोसीडाडले खेल बराबरीमा ल्यायो। डि जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि रेफ्रीले पेनाल्टी दिए। उक्त पेनाल्टीलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई खेलमा फर्काए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलियो।
अतिरिक्त समयमा दुवै टोलीबाट गोल भएन। टाइब्रेकरमा सोसीडाडको लागि जोन बाउटिस्टाले गरेको पहिलो प्रहार नै गोलरक्षक टेर स्टेगनले विफल पारे। तर बार्सिलोनाका लागि पहिलो प्रहार पनि गोल हुन सकेन। डे जोङको प्रहार पोस्टमा लागेर फर्किएको थियो। सोसीडाडको ओयाराज्बालको प्रहार पनि टेर स्टेगनले बचाए।
बार्सिलोनाको लागि ओस्मान डेम्बेलेले दोस्रो प्रहारमा गोल गर्दै अग्रता दिलाए। तर विलियन जोसेले पोस्टमा प्रहार गरेपछि सोसीडाडको लगातार तेस्रो प्रहारमा गोल हुन सकेन। मिरालेम प्यानिचले तेस्रो नम्बरमा गोल गर्दै बार्सिलोनालाई २–० ले अघि राखे। मिकेल मेरिनोले चौथो प्रहारमा भने गोल गर्दै सम्भावना जीवित राखे।
लगत्तै एन्टोइन ग्रिजमनको प्रहार आकासिंदा सोसीडाडले खेलमा फर्कने अवसर पाएको थियो। सोसीडाडका लागि अदनान जानुजाजले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। टाइब्रेकरको अन्तिम प्रहारमा बार्सिलोनाका रिकी पुजले गोल गर्दै टाइब्रेकरमा ३– २ को जित पक्का गरेका थिए।
बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ। सेमिफाइनल उक्त खेललाई विश्लेषकहरुले सिजन २०२०–२१ कै उत्कृष्ट खेल भएको बताएका छन्। प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलबाट फुटबलप्रेमीहरुले मज्जा लिएको भन्दै उनीहरुले दुबै टोलीको खेल उत्कृष्ट भएको जानकारी दिएका छन्।