सगरमाथाको विषयमा आफुले बोलेको कुराको बारेमा भारतको टेलिभिजन च्यानल जी न्यूजले अन्ततः माफी मागेको छ। बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा च्यानलका प्रधान सम्पादक एवं होस्ट सुधीर चौधरीले सगरमाथामा भारतको दाबी हुनुपर्छ भनेर भन्न नखोजिएको बताएका हुन्।
उनले नयाँ पत्रिका दैनिक हातमा लिएर माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न नसक्ने बताए। उनले केवल सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई उनको श्रेय दिनुपर्ने मात्र भन्न खोजेको बताए।
सुधिरले भने, ‘भारतले पनि यसलाई माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ। यदि नेपालीले यो कुरालाई स्वीकार गर्छन् भने यसमा उनको महानता झल्कनेछ। माउन्ट एभरेस्टबाट माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन।’
आइतबार सगरमाथा आधार शिविरमै हेलिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रिपोर्टिङ गरेका थिए। उनले त्यहाँ पुगेर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने र भारतीय नाम दिने अभियान बताएका थिए। उनको रिपोर्टिङ निकै विवादित बन्यो। त्यसअघि उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको लामो अन्तर्वार्ता लिएका थिए।