कोरोना भाइरसको उत्पत्तिसम्बन्धी अध्ययन गर्न विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को टोली चीन पुगेको छ। अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु सम्मिलत टोली कोरोना भाइरसको उत्पत्तिस्थल चीनको वुहान शहर पुगेको हो।
लामो समयपछि १० सदस्यीय यो टोलीलाई चीन सरकारले वुहानमा अनुसन्धान गर्न अनुमति दिएको थियो। विश्व स्वास्थ्य संगठनको टोली स्थानीय समयअनुसार बिहान ११ बजे वुहान पुगेको समाचार एजेन्सी एपीले जानकारी दिएको छ।
अनुसन्धानकर्ताले यो भाइरस चमेरा वा अन्य कुनै जनावरबाट चीनको दक्षिण पूर्वी क्षेत्रमा मानिसमा सरेको हुन सक्ने आशंका गरेका छन्। चीनले नियोजितरुपमा भाइरसलाई फैलाएको आरोप लागेको थियो। महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको र भाइरस फैलिन दिएको चीन सरकारको आलोचना पनि भएको थियो।