क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी वर्तमान् फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। यी दुई महान् खेलाडीको प्रतिस्पर्धालाई फुटबल इतिहासको सबैभन्दा कठिन र महान् प्रतिस्पर्धा मानिन्छ। दुई खेलाडीको प्रतिद्वन्द्व र प्रतिस्पर्धालाई लिएर विश्व फुटबल दुई ध्रुवमा विभाजित हुन्छ।
तर, कल्पना गर्नुस् त, यी दुई खेलाडी एकै क्लबमा थिए भने के हुन्थ्यो होेला? केहि फुटबलप्रेमीहरु मेसी र रोनाल्डोले अझै पनि एउटै क्लबबाट फुटबल खेलेको हेर्न चाहान्छन्। हाललाई यो कल्पना मात्र होला। असम्भव नै छ भनेर ठोकुवा गर्न सकिँदैन।
बार्सिलोनाले मेसी र रोनाल्डोलाई एउटै क्लबमा मिलन गराउने अवसर गुमाएको सनसनीपूर्ण खुलासा भएको छ। त्यो पनि १५ मिलियन युरोका लागि। कुरा सन् २००३ को हो, रोनाल्डो म्यानचेस्टर युनाइटेड जानुअघि बार्सिलोनाले १५ मिलियन युरोमा उनलाई अनुबन्ध गर्न अस्वीकार गरेको थियो।
यदि बार्सिलोनाले त्यस समयमा रोनाल्डोलाई टिममा लिएको भए मेसी र रोनाल्डालाई मैदानमा एकै लक्ष्यमा लागि अघि बढेको देख्न पाइन्थ्यो। एकअर्कालाई गोलको लागि सहयोग गरिरहेको देख्न पाइन्थ्यो। सायद त्यसो हुन्थ्यो भने, बार्सिलोनालाई कुनै पनि टिमले कुनै पनि अवस्थामका रोक्न सक्दैनथ्यो। अपसोस, बार्सिलोनाले त्यो अवसरको सदुपयोग गरेन।
सन् २००३ को समरमा रोनाल्डो स्पोर्टिङ लिस्वोन छोड्ने तयारीमा थिए। त्यतिबेलासम्म उनले आफूलाई अब्बल खेलाडी सावित गरिसकेका थिए। तर, बार्सिलोनाले उनलाई लिन चासो नदेखाएपछि उनी म्यानचेस्टर युनाइटेड गएका थिए।
बार्सिलोनाका अध्यक्षका उम्मेदवार जोआन लापर्टाले उक्त कुराको सनसनीपूर्ण खुलासा गरेका हुन्। सन् २००३ देखि २०१० सम्म बार्सिलोनाको अध्यक्ष रहेका उनले बार्सिलोनाले खेल जगतको मुहार नै फेरिने उक्त अवसर गुमाएको बताएका हुन्।
‘हामी रोनाल्डिनो र राफा माक्र्वीजलाई अनुबन्ध गर्ने तयारीमा थियौं,’ १८ वर्षअघिको उक्त घातक निर्णय स्मरण गर्दै लापर्टाले भने, ‘हामीलाई रोनाल्डो अफर गरिएको थियो। त्यो बेला उनी स्पोर्टिङमा थिए।’
‘एजेन्टले हामीसँग खेलाडी छ भनेका थिए। पछि उनलाई १९ मिलियन युरोमा युनाइटेडमा बेचिएछ,’ लापर्टाले भने, ‘हामीलाई भए १७ मिलियन युरोमै दिने कुरा थियो।’
‘तर, हामीले रोनाल्डिनोमा लगानी गरिसकेका थियौं। त्यो अवस्थामा हाम्रो लागि उपलब्ध खेलाडीहरु नै पर्याप्त थिए। त्यसकारण रोनाल्डोलाई अस्वीकार गर्याैं,’ उनले भने। लापर्टाले त्यस कुरामा कुनै पछुतो नभएको पनि बताएका छन्। उनले त्याे समयमा जे थियो, त्यही नै रहेको जानकारी दिएका छन्।