ला लिगा च्याम्पियन रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिक क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबर राति भएको खेलमा एथ्लेटिक क्लबले रियल मड्रिडलाई २–१ गोलले हराएको हो।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा नै एथ्लेटिक क्लबले २ गोलको अग्रता बनाएको थियो। खेलको १८ औं मिनेटमा राउल गार्सियाले गोल गर्दै एथ्लेटिकलाई शुरुवाती अग्रता दिलाएका थिए।
खेलको ३८ औं मिनेटमा लुुकास भाज्क्वेजले पेनाल्टी बक्समा इनिगो मार्टिनेजलाई लडाएपछि एथ्लेटिकले पेनाल्टी पायो। गार्सियाले नै पेनाल्टीमा गोलमा परिणत गर्दै टिमको अग्रता दोब्बर बनाए।
२ गोलले पछि परेसँगै रियल मड्रिड केही दबाबमा देखिएको थियो। खेलको दोस्रो हाफमा आक्रामक देखिएकोले रियलले लगातारको प्रयासपछि ७८ औं मिनेटमा गोल गर्न सफल भयो। करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, खेलमा थप गोल नहुँदा रियलले २–१ को हार बेहोर्याे।
जितसँगै एथ्लेटिक क्लबले बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको छ। पहिलो सेमिफाइनल खेलमा बार्सिलोनाले रियल सोसिडाडविरुद्ध नाटकीय जीत निकाल्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल खेल नेपाली समयअनुसार आइतबार राति १ः४५ बजे हुनेछ।