प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा कप्तान विनोद भण्डारीको शानदार शतककाे मद्दतमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको हो।
आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा अलआउट हुँदै १ सय ८९ रन बनायो। गण्डकीको लागि समिर कँडेलले अर्धशतक बनाए। उनले ९० बलमा ५० रन बनाएका थिए। अर्का ब्याट्सम्यान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ रन बनाएका थिए।
बलिङमा आर्मीका राजेश पुलामी एक्लैले ५ विकेट लिएका थिए। ९ ओभरमा २५ रन मात्र दिएका पुलामीले २ मेडन ओभर राखेका थिए। अर्का बलर भिम सार्कीले ३ विकेट लिँदा रोहित पौडेल र आकाश चन्दले समान एक/एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो। उसका लागि कप्तान विनोद भण्डारीले शानदार शतक बनाएका थिए। कप्तान भण्डारी ७६ बलमा १ सय ११ रन बनाउँदै अविजित रहे। यो भण्डारीको अन्तर्राष्ट्रिय र राष्ट्रिय दुबै प्रतियोगितामा पहिलो शतक हो।
यस्तै, आर्मीका राजु रिजालले ४५ रनको योगदान दिए। लोकेश बमले ४२ र राजेश पुलामी मगरले ३८ रन बनाउँदा भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए। गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २/२ विकेट लिए। दिपेश खत्री र चन्द्र पौडेलले एक/एक विकेट हात पारे।