चार वटा कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासहित तीन जना नेताको रिहाईको माग गरेका छन्। पुस २९ गते पश्चिम कमाण्ड प्रमुख बास्तोलासँगै नेता विवेक कुमाललाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले प्रेस वक्तव्यमार्फत् नेता बास्तोलासहित सम्पूर्ण बन्दीलाई तत्काल रिहाई गर्न माग गरेका हुन्।
‘यही २०७७ पुस २९ गते नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोलासहित अन्य तीन जनालाई नेपाल सरकारले गिरफ्तार गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘भिन्न विचार राखेकै कारण गरिएको उहाँहरूको गिरफ्तारी ओली सरकारको घोर निन्दनीय र फासिवादी कार्य हो।’
नेता बास्तोलाको गिरफ्तारीको तीव्र विरोध तथा भर्त्सना गर्दै अविलम्ब र बिनाशर्त रिहाईको माग वक्तव्यमा गरिएको छ। ‘साथै, उहाँहरूलगायत बन्दी जीवन बिताइरहनु भएका सम्पूर्ण राजबन्दीहरूको रिहाईका लागि दरो आवाज उठाउन हामी सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारीवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवं व्यक्तित्वहरूलाई विशेष अनुरोध गर्दछौं,’ वक्तव्यमा भनिएको छ।