तीव्ररुपमा निर्वाचनको तयारी थालेको निर्वाचन आयोग सर्वदलीय छलफलमा जुट्ने भएकाे छ। आयोगले आइतबार छलफलका लागि दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित कार्यालयमा बोलाएको छ।
आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका सबै दलहरुलाई छलफलमा बोलाएको हो।
त्यस्तै, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर आयोगले निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन आग्रह गरेको हो।