सिरी ए फुटबलमा आइतबार राति चिरपरिचित प्रतिद्वन्द्वी युभेन्टस् र इन्टर मिलानबीच महाभिडन्त हुँदैछ। उक्त खेल नेपाली समयअनुसार राति १ः३० बजे शुरु हुनेछ।
उपाधि दाबेदार दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ। अंक तालिकामा हाल इन्टर मिलान दोस्रो स्थानमा रहँदा युभेन्टस चौथो स्थानमा छ। पहिलाे स्थानमा एसी मिलान रहेकाे छ।
युभेन्टस र इन्टर मिलानको खेल दौरान युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई दुई कीर्तिमान बनाउने अवसर छ। इन्टर मिलानविरुद्ध एक गोल गर्न सकेमा रोनाल्डो लगातार १५ सिजनमा २० गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। यस सिजन हालसम्म रोनाल्डोले सिरी ए मा १५ र च्याम्पियन्स लिगमा ४ गरी कुल १९ गोल गरिसकेका छन्।
त्यस्तै, रोनाल्डोलाई आइतबार रातिको खेलमा अर्को पनि कीर्तिमान बनाउने अवसर छ। इन्टर मिलानविरुद्धको एक गोलले उनी फुटबल इतिहासमा सबैभन्दा बढी आधिकारीक गोल गर्ने खेलाडी बन्ने छन्। केहि समयअघि ७ सय ५९ गोलका साथ रोनाल्डोले जोसेफ बिकानकाे सबैभन्दा धेरै आधिकारीक गोल गर्ने कीर्तिमानमा बराबरी गरेका थिए।
रोनाल्डोलाई इन्टर मिलानविरुद्ध गोल गर्न सहज भने छैन। उच्च लयमा रहेको मिलानको डिफेन्स ताेडेर गाेल गर्न मुश्किल नै छ। उत्कृष्ट लयमा रहेकाे मिलानविरूद्ध रोनाल्डोलाई कीर्तिमान बनाउने अवसरसँगै चुनौती पनि छ।