भारतमा कोरोना भाइरस संक्रमितको संख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १ सय ४४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ५७ हजार ९ सय ८५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १ सय ८१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार २ सय ७४ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ९६ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ८ हजार ८ सय २६ सक्रिय संक्रमित रहेका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार २ सय ९९ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७ सय ३८ को मृत्यु भएको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १८ करोड ६५ लाख ४४ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। शनिबार एकै दिनमा मात्र सात लाख ७९ हजार ३ सय ७७ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।
यद्यपी भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शनिबारदेखि सुरु भएको छ। विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले खोप अभियानलाई कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण बनाए। मोदीले अभियानको पूर्वसन्ध्यामा शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए।
नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज (एम्स) का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बनेका छन्। उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाएका छन्। हिजो नै भारतभरी २ लाख व्यक्तिले कोरोना विरुद्ध खोप लागाएका छन्।