प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जीत निकालेको छ। आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हराएको हो।
आर्मीले दिएको १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रनमा समेटियो। कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रनको योगदान दिए। हेमन्त ओलीले १६ रन र दिनेश अधिकारीले १२ रन बनाउँदा अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ आर्मीका सुशन भारीले ४ विकेट लिए। शाहब आलमले ३ विकेट हात पार्दा रोहित पौडेलले २ विकेट लिए।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय पारी खेले। कप्तान विनोद भण्डारीले ४१ रनको योगदान दिए। त्यस्तै राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन जोडे।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २–२ विकेट लिए। आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको थियो। जितसँगै आर्मी २ खेलमा ४ अंक जोड्दै समूह ‘ए’ को शीर्षस्थानमा छ।
आइतबार नै भएको अर्को खेलमा बागमती प्रदेश विजयी भएको छ। बागमतीले पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको हो।
पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहँदै ४८ रन बनाए। इशान पाण्डेले अविजित १७ रन बनाए। पारस खड्काले १७ रन जोड्दा आदील खानले १२ रन जोडे।
बलिङमा पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो।
पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेलले समान १७–१७ रन बनाए। त्यस्तै अमित श्रेष्ठले ६ रन, दीपेन्द्र सिंह ऐरीले २१ रनको योगदान दिए। आरिफ शेख २१ रन जोडे। बागमतीका नन्दन यादव र तिलक भण्डारीले समान ४–४ विकेट लिए। रामनरेश गिरीले २ विकेट हात पारे।