अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको हो।
अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि हिंसा रोकिएको छैन। पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन्।
दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिएका छन्। उनले दुर्भाग्यवस आक्रमणमा दुई महिला न्यायाधीशलाई गुमाएको र उनीहरुका सवारी चालक घाइते भएको जानकारी दिएका छन्।
प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन्। काबुल प्रहरीले पनि आक्रमणको पुष्टी गरेको छ। अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ मा पनि आक्रमण भएको थियो। सो आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको थियो।
अफगान अधिकारीहरुले ती आक्रमणहरु तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन् तर, तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ। कतिपय हत्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ।
तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसात्मक घटना बढेको भन्दै सर्वत्र चिन्ता पनि व्यक्त गरिएको छ।