प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा रहेको जानकारी दिएका छन्। अखिल नेपाल महिला संघ(अनेम) को बैठकलाई सम्बोधन गर्दै उनले संविधानको प्रयोग गरेर नै आफूले संसद् विघटन गरेको बताएका हुन्।
उनले संविधानको धारा ७६ (७) र धारा ८५ र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अनुसार संसद् विघटनको लागि सिफारिस गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनको विषयमा राष्ट्रपतिमाथि प्रहार भएको बताउँदै गणतन्त्रमाथि नै हमला भइरहेको जानकारी दिएका छन्।
राजनीतिक दलहरुले स्वतन्त्र न्यायलय र निर्वाचन आयोगलाई हमला गरिरहेको बताउँदै ओलीले न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएकोमा आक्रोश व्यक्त गरेका छन्। एकताको तीन वर्षसम्म कामै गर्न नसक्ने अवस्थामा पुगेको पार्टीले अहिले गति लिएको ओलीले बताए। कारबाही गर्नुपर्नेहरुले आफैं पार्टी छोडेकाले राम्रो भएको उनको आशय थियो।