प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जीत निकालेको छ। गण्डकीले प्रदेश नम्बर १ लाई २ विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो।
मुलपानी क्रिकेट मैदानमा सोमबार प्रदेश १ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। गण्डकीलाई जीत दिलाउन अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५–३५ रनको योगदान दिए। अर्का ब्याट्स्म्यान अविशेक थापाले अविजित १३ रन जोडे।
बलिङमा प्रदेश १ का मिनास थापा र शुभशंकर उराले समान २–२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो। उसका लागि कप्तान सिद्दान्त लोहनीले २४ रन र मिनास थापा २२ रनमा बनाए।
बलिङमा गण्डकीका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट हात पारे। यस जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ। प्रदेश १ को यो लगातार दोस्रो हार हो।