५ जनालई नयाँ जीवन दिएर भारतमा एक बालिका सधैंका लागि अस्ताएकी छिन्। २० महिनाकी धनिष्ठा अरु ५ जना बालबालिकालाई नयाँ जीवन दिएर आफू सधैंका लागि बिदा भएकी हुन्।
धनिष्ठा भारतको दिल्लीकी बालिका हुन्। दुर्घटनामा परेपछि डाक्टरहरुले धनिष्ठाको ब्रेन डेड भएको बताएका थिए। त्यसपछि उनका बाबुआमाले उनका अंग दान गरिदिए। उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ।
यससँगै धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन्। ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट उनी खसेकी थिइन्। उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। ११ जनवरीका दिन उनकाे ब्रेन डेड घोषित गरिएको थियो।
उनका बाबुआमाले अरु बालबालिकाको ज्यान बचाउनको लागि आफ्नी छोरीलाई गाड्नुको सट्टा शरीरका अंग दान गर्ने निर्णय गरेका हुन्। उनको मस्तिष्कबाहेक सबै अंगले राम्रोसँग काम गरिरहेकाे डाक्टरले बताएका थिए।
उनको मुटु, मृगौला, कलेजो र दुवै कर्निया अस्पतालमै प्रिजर्भ गरिएका थिए। उनका दुवै मृगौला एकजना वयस्कलाई, मुटु र कलेजो दुई अलग अलग बच्चाहरुलाई दिइएको बताइएको छ। समाचार स्रोतका अनुसार उनको कर्नियालाई सुरक्षित राखिएको छ। उक्त कर्निया अरु २ जनालाई दिइने छ।