ब्राजिलियन मिडफिल्डर आर्थर मेलोले अर्जेन्टिनी फुटबलर लियोनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोबीच हुने तुलनामा आफ्नो विचार व्यक्त गरेका छन्।
हाल युभेन्टसमा रोनाल्डोसँगै खेलिरहेका मेलो बार्सिलोनाका पूर्व खेलाडी हुन्। उनले मेसी र रोनाल्डो दुबैसँग फुटबल खेलेका छन्।
‘रोनाल्डो मेसी भन्दा बढी आफूलाई अभिव्यक्त गर्छन्,’ उनले भने, ‘रोनाल्डो ड्रेसिङ रुममा सबैसँग रमाएर बस्छन्।’ ‘उनी(रोनाल्डो) ड्रेसिङ रुममा धेरै सक्रिय रहन्छन्, सबैसँग कुरा गर्छन्। सबै जनासँग राम्रो सम्बन्ध राख्छन्। हामीले एउटै भाषा प्रयोग गर्ने भएकोले केहि सजह भएको हुन सक्छ,’ मेलोले भने।
‘प्रत्येक व्यक्तिको नेतृत्व क्षमता प्रदर्शन गर्ने तरिका फरक हुन सक्छ। मेसीले आफ्नो नेतृत्व क्षमता कामबाट देखाउने गर्छन्, जसका कारण उनले क्षमता प्रदर्शन गरेको सिधा रुपले देखिँदैन,’ उनले भने, ‘जब बल भेट्छन् तब मेसीले क्षमता देखाउँछन्। खेल जित्नैपर्ने उनको मनशाय देखिन्छ, जुन टिमका अरु साथीहरुलाई पनि थाहा हुन्छ।’
दुई सुपस्टारमध्ये तपाईँ कसको पक्षमा जानुहुन्छ भन्ने प्रश्नमा मेलो कुनै द्विविधामा थिएनन्। ‘म रोनाल्डोतिर नै जान्छु, हामीसँगै फुटबल खेलिरहेका छौं। म रोनाल्डोसँग धेरै नजिक त छैन, तर हामीबीच राम्रो सम्बन्ध छ,’ उनले भने, ‘टिमका साथीलाई केहि आवश्यक परेमा रोनाल्डो पछि हट्दैनन्। उनी कडा मिहिनेत गर्छन्, टिमलाई उत्साह दिन्छन्।’