प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कर्णाली प्रदेश विजयी भएको छ। मंगलबार भएको खेलमा कर्णालीले गण्डकीलाई ५ विकेटले हराएको हो।
गण्डकीले दिएको २ सय ५ रनको विजयी लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो। कर्णालीको जितमा हिमान्सु शाहीले अविजित ६८ रनको शानदार पारी खेले। विपिन रावलले ४९ रन, राज शाहले ३२ रन बनाए। त्यस्तै, हेमन्त ओली २९ रनको योगदान दिए। बलिङमा गण्डकीका विपिन खत्री एक्लैले ४ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो। गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेले।
अर्जुन कुमालले ४६ रन र कप्तान विपिन खत्रीले ३२ रन बनाए। बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए। त्यस्तै, अनुज चुनरा र दिवन पुनले २–२ विकेट हात पारे।
जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ। समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो। गण्डकीको यो दोस्रो हार हो। गण्डकीले ३ खेलमा २ अंक जोडेको छ।