प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानम लुम्बिनीले दिएको २ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनायो। उसका लागि विवेक यादवले ५१ रनको योगदान दिए। त्यस्तै सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए।
बलिङतर्फ लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए। बिक्रम भुसाल र दिपेन्द्र रावतले २–२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो। लुम्बिनीका लागि सन्दीप रजालीले ८३ रन र सौरभ खनालले ५६ रनको योगदान दिए। बिक्रम भुसालले ३६ रन बनाए।
बलिङमा प्रदेश–२ का हरिशंकर साहले ३ विकेट लिए। दिब्यान्सु मल्लिकले २ विकेट हात पारे। जितसंगै समूह ’बी’ को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ।