स्व. विन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठानले आयोजना गरेको स्व. विजयप्रकाश बिन स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासघ पर्साका सस्थापक सदस्य एवं वरिष्ठ पत्रकार शंकर खतिवडालाई प्रदान गरिएको छ।
खतिवडालाई नगद ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो। सम्मानित पत्रकार खतिवडा वि.सं. २०१३ साल जेष्ठ १२ गते जन्मिएका हुन्।
वि.सं. २०३७ सालदेखि राष्ट्रिय ध्वनीबाट पत्रकारिता शुरु गरेका खतिवडा २०३९ सालदेखि मोर्चा साप्ताहिक पत्रिकाको प्रकाशक र सम्पादकको रुपमा निरन्तर कलम चलाउँदै आएका छन्। ४० वर्षदेखि पत्रकारितामा सक्रिय खतिवडा युवा पुस्ताका पत्रकारहरूलाई स्वच्छ र अनुशासित रुपमा कलम चलाउन सल्लाह दिन्छन्।
सम्मानित पत्रकार खतिवडाले यो पुरस्कार विवरण कार्यक्रम पत्रकार महासंघ पर्साले आयोजना गर्नुपर्ने धारणा राखेका छन्। पत्रकार महासंघ सबै पत्रकारहरूको साझा संगठन भएकाले सबैका दुःख–सुखमा महासंघले पहल गर्नुपर्ने उनको धारणा छ।
कसैलाई काखा र कसैलाई पाखा लगाउने कार्य भएकोमा आफू चिन्तित भएको पत्रकार खतिवडाको धारणा छ। ‘म मात्रै यो पुरस्कारबाट सम्मानित नभई सिङ्गो पत्रकार जगत सम्मानित भएको हो, र आउने दिनहरूमा अरु पनि अग्रज पत्रकार, क्रियाशील र खोजमूलक पत्रकारहरू सम्मानित हुने आशा मैले राखेको छु,’ उनले भने।
स्व. बिन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा स्व. विजयप्रकाश बिनले वीरगञ्जमा पहिलो भोजपुरी पत्रिका प्रकाशन गरेको जानकारी गराइयो।
स्व. विजयप्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार तथा सम्मान समारोह अध्यक्ष तुलसी भण्डारीको अध्यक्षता र वीरगञ्ज महानगरका नगर प्रमुख विजय सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमका नेपाल पत्रकार महासघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, सदस्य जगत राई, खोज पत्रकारिता केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जरा , सचिव युवराज खड्का, संघीय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल, प्रेस संगठन पर्साका सहसंयोजक अनुप तिवारी, आर्थिक पत्रकार संघ पर्साका संयोजक रितेश त्रिपाठी, वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे, सरोज खड्का लगायतकाको सहभागिता रहेको थियो।
विजय भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव माधुरी महतोले गरेकी थिइन्।