चितवनमा ट्रक र बस एक–आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति भएको सो दुर्घटनामा परी खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक एकापसमा ठक्कर खाएको थियो।
राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन्।
घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।