नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताएका छन्।
लोकतन्त्र र संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डले बताएका हुन्।
लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू जतिसुकै लचिलो हुन पनि तयार रहेको कुरा पनि देउवालाई भनेको प्रचण्डले बताए।
कांग्रेस निरन्तर रूपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदम विरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने उनले विश्वास व्यक्त गरेका छन्।