नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट खेलहरु दशरथ रंगशालामा दर्शकसहित खेल्ने भएको छ। कोरोना महामारीका कारण स्थगित भएका छनोट खेलहरु नेपालले दर्शकमाझ खेल्ने भएको हो। नेपालले छनोटमा चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्नेछ।
ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते र जोडर्नसँग जेठ १२ मा खेल्नेछ। ती तीनै खेलमा दर्शकलाई प्रवेश दिने एन्फाले जानकारी दिएको छ।
मंगलबार भएको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रम पास गर्ने क्रममा विश्वकप छनोटका खेलहरु नेपालमा गर्ने र ती खेलमा दर्शकलाई टिकट बिक्रि गरेर रकम उठाउने उल्लेख छ। छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ।