भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ। बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिएका हुन्।
अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने मन्त्री त्रिपाठीले बताए। पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री उनले बताए। मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए। उनले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिए।
भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ।
भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।
नेपाल सरकारले अक्सफोर्ड–अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।