बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पदमुक्त भएका हुन्। राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो। उनीसँगै सोही वडाका सदस्य तिलबहादुर फगामीलाई पनि पदमुक्त गरिएको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित वडाध्यक्ष पुन र वडासदस्य फगामीलाई पदमुक्त गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ। राष्ट्रिय जनमोर्चाको सिफारिसमा वडाध्यक्ष र सदस्यलाई आयोगले पदमुक्त गरेको हो। पार्टीको आन्तरिक विवादका कारण जनमोर्चाले आफ्नै जनप्रतिनिधि निर्वाचित व्यक्तिलाई पदमुक्त गर्न आयोगलाई पत्र लेखेको थियो।
जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले पनि विज्ञप्ति जारी गर्दै जनमोर्चा परित्याग गरेका पुन र फगामीलाई आयोगले पदमुक्त गरेको जानकारी गराए। राष्ट्रिय जनमोर्चा केन्द्रीय कमिटीले वडाध्यक्ष र सदस्य दुवैले दल त्याग गरेको सिफारिस निर्वाचन आयोगलाई लिखितरुपमा पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम अध्यक्ष र सदस्य पद स्वत:रिक्त भएको जानकारी दिएको छ।
गत वर्षको कात्तिक १२ गते जनमोर्चाका कार्यकर्ताबीचको झडपमा परी पुन र फगामी घाइते भएका थिए। झडपमा वडाध्यक्ष पुनसहित अन्य कार्यकर्ता गम्भीर घाइते हुने गरी कुटपिट भएको भए पनि वडाध्यक्ष पुनसहित उनी पक्षीय कार्यकर्तामाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। अध्यक्ष पुनलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी हिरासतमा राखेको छ।
त्यो घटनामा सात जनाविरुद्ध मुद्दा दायर गरिएको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। वडाध्यक्ष पदमुक्त भएपछि खुङगावासीलाई सिफारिसलगायतका काममा समस्या भएको छ। नगरपालिकाले बैठक राखेर मौजुदा वडासदस्यमध्ये कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने तयारी गरेको नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए।