सर्लाहीमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।हरिवन नगरपालिका वडा नम्बर ४ भएको उक्त दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्।
दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे सडकबाट तल खसेर दुर्घटना भएको हो।
एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरी र राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।
राजकुमारीको घटनास्थलमै मृत्यु भएको हो भने निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित १७ जना घाइते छन्। गम्भीर घाइते भएका पाँच जनालाई वीरगञ्जस्थित अस्पताल र अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुलेको छैन। बसमा ३० जना यात्रु थिए।