मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना नेत्रविक्रम चन्द विप्लवका नेता पेस्तोलसहित पक्राउ परेका छन्। विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पेस्तोलसहित बुधबार पक्राउ परेका हुन्।
उद्योगी व्यवसायीलाई धम्की दिई चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित मोरङ बुढीगंगा गाउँपालिका–४ स्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरेको हो।
संखुवासभा साबिक मादी गाविस रामवेनी–७ हाल मादी नगरपालिका–४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ।
विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न छन शिक्षक श्रेष्ठको हत्या हुँदा उनी मेची–कोसी ब्यूरो सदस्य थिए।
५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते विहान हत्या भएको थियो। हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
प्रहरी स्रोतका अनुसार शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए। मोरङका दुईसहित अन्य पाँचजना फरार रहेको प्रहरीले बताएको छ।