भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको खोप आज काठमाडौं आएको छ। बिहिबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको १० लाख डोज भ्यक्सिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आज बिहान ११ः५३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेको हो।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे। ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ। त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ।
भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जानकारी दिएको छ।