जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका हुन्।
कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, ‘यो प्रजातन्त्रको दिन हो।’ ‘प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।’
नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए। ‘उनले राष्ट्रपतिको रूपमा गरेको पहिलो भाषणमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बोलेका छन्।’
‘विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवाद उनले आफ्ना मुख्य चुनौती मानेका छन्।’
‘यी समस्याका बारेमा बाइडनले आफ्नो समाधानको सूची प्रस्तुत त गर्ने छन् नै तर राष्ट्रपतिको रूपमा पहिलो सम्बोधन गर्दै उनले प्रस्तुत गरेका उपाय होः राष्ट्रिय एकता।’
ह्यारिसलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन्। निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन्।
आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित छन्।
समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन्।
डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै ‘आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो’ भनेकी छन्।