प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले लगातार दोस्रो जीत निकालेको छ। बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको हो।
गण्डकीले दिएको १ सय ७ रनको सामान्य लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो। एपीएफका लागि आसिफ शेखले विस्फोटक ब्याटिङ गर्दै ५६ बलमा ७८ रन बनाए। त्यस्तै सुमित महर्जनले १८ रन तथा शरद भेषवाकरले ५ रन बनाए।
बलिङमा गण्डकीका चन्द्र पौडेलले २ र विशाल पौडेलले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्र बनाएको थियो। उसका लागि समिर कँडेलले ३६ रन, विष्णु पाण्डे र दीपेश खत्रीले समान १५–१५ रन बनाए। त्यस्तै, दिनेश बुढामगरले १२ रन बनाउन अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ एपीएफका कमल ऐरीले ४ विकेट लिए। त्यस्तै, अविनाश बोहरा र शरद भेषवाकरले समान २–२ विकेट लिए। जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ। एपीएफले पहिलो खेलमा प्रदेश १ लाई हराएको थियो। गण्डकीको यो तेस्रो हार हो।