राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले वियजी शुरुवात गरेको छ। बिहीबार भएको खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफको जीतमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। एपीएफकी कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक–एक गोल गरे।
एपीएफले खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट शुरुवाती अग्रता बनायो। खेलको २२ औं मिनेटमा अञ्जलीले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन्।
त्यस्तै, खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफले ३–० गोलको अग्रता बनायो। खेलको ६४ औं गोल गर्दै कप्तान अनिताले एपीएफलाई ४–० को अग्रता दिलाइन्। खेलको ७३ औं मिनेटमा सावित्राले ह्याट्रिक गरिन्।
त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६–० को शानदार जीत निकालेको हो।