प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जीत निकालेको छ। बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले हराएको हो।
पुलिसले दिएको ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३६ रन मात्र बनायो। लुम्बिनीको पारीमा सौरभ खनालले सर्वाधिक ७४ रन बनाए।
कप्तान कृष्ण कार्कीले अविजित ४० रन, देव खनालले ४९ रन जोड्दा सन्दीप रजालीले ४० रनको योगदान दिए। बलिङमा पुलिसका राशिद खान र पवन सर्राफले समान २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। पुलिसका लागि सुनिल धमलाले शतकीय पारी खेल्दै १ सय ४ रन बनाए। दिपेन्द्र सिंह ऐरीले ८५ रनको योगदान दिँदा पवन सर्राफले १३ बलमा कीर्तिमानी ५० रनको बनाए।
यससंगै पवन घरेलु क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन्। त्यस्तै आरिफ शेखले २९ रन जोड्दा अमित श्रेष्ठले २९ रन बनाए। बलिङथर्फ लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले समान एक–एक विकेट लिए।