फाइनल खेलमा नापोलीलाई २–० गोलले हराउँदै युभेन्टसले इटालियन सुपर कपको उपाधि जित्यो। उक्त खेलमा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक गोल गरे।
रोनाल्डोको उक्त गोल कीर्तिमानी गोल हो। सो गोलसँगै रोनाल्डो लगातार १५ सिजन २० गोल गर्ने पहिलो खेलाडी बने। योभन्दा महत्वपूर्ण कुरा, उनी फुटबल इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। रोनाल्डो पहिलो कीर्तिमान सर्वस्वीकार्य भए पनि दोस्रो कीर्तिमान विवादित छ।
रोनाल्डोले आफ्नो फुटबल करियरमा आधिकारीक गोलको संख्या ७ सय ६० पुराएका छन्। उनले स्वेदशी क्लब स्पोर्टिङ लिस्बनका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि ११८, रियल म्याड्रिडका लागि ४५०, युभेन्ट्सका लागि ८५ गोल र पोर्चुगलका लागि १०२ गोल गर्दै गोल संख्या ७ सय ६० पुराएका हुन्।
तर, फुटबलसम्बन्धी तथ्याङ्क संकलन गर्ने सोकर फाउन्डेसनका अनुसार विश्वकै सर्वाधिक गोलकर्ता जोसेफ बिकन हुन्। बिकनले ५ सय ३० खेलमा ८ सय ५ करिअर गोल गरेको फाउन्डेसनको दाबी छ। उक्त फाउन्डेसनका अनुसार ७ सय ७२ गोलका साथ ब्राजिलका रोमारियोले दोस्रो स्थानका छन्। त्यस्तै, पेले ७ सय ६७ गोलका साथ तेस्रो स्थानमा छन्।
सोकर फाउन्डेशनको सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डो चौथो स्थानमा छन्। तर, समाचार एजेन्सीहरुले बिकनले गरेका कतिपय गोल आधिकारिक नभएको दावी गर्दै रोनाल्डो नै सर्वाधिक गोलकर्ता हुन् भनेर दावी गरेका छन्। बिकनले आधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता नपाएका खेलमा गरेका गोल गणना गर्नु नहुने बताइएको छ।
एक तथ्याङ्कमा बिकेनको आधिकारीक गोल संख्या ७ सय ५९ रहेको जानकारी दिइएको छ। उनले क्लब फुटबलमा ७३० र अन्तर्राष्ट्रिय खेलमा २९ गोल गरेका थिए। उक्त रिपोर्टले पेलेको गोलसंख्या ७ सय ५७ र रोमारियोको गोल संख्या ७ सय ४५ रहेको दावी गरेको छ।
त्यस्तै, पेलेको इन्स्टाग्रामको बायोमा ‘लिडिङ गोल स्कोरर अफ अल टाइम (१२८३)’ लेखिएको छ। तर ती गोलहरु सबैको तथ्याङ्क नभएका कारण पेलेको गोल संख्या पनि विवादित छ। मैत्रीपूर्ण, आधिकारिकता नपाएका खेलमा गरेको गोल पनि गणना गरेको आरोप पेलेमाथि लाग्दै आएको छ।
पेलेले लियोनल मेसीको एउटै क्लबका लागि सर्वाधिक धेरै गोल भन्ने कीर्तिमानलाई अस्वीकार गरेका छन्। उनले फुटबल खेलेको क्लब सान्तोषले पनि पेलेले क्बलका लागि हजारबढी गोल गरेको जानकारी दिएको छ।
पेलेको इन्टाग्राम बायोले मेसी र रोनाल्डो दुबैको कीर्तिमानलाई प्रष्ट चुनौती दिएको छ। तर, पेलेको गोलहरुको आधिकारिक स्रोत नभएका कारण एउटै क्लबका सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान मेसीको नाम नै हुनुपर्ने बताइएको छ।
यस हिसाबले सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान पनि रोनाल्डोको नाममा हुनुपर्ने बताइएको छ। धेरैले रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् भनेर स्वीकार गरेपनि उनको कीर्तिमानमा विवाद रहेको छ।