नेपाल शैक्षिक परामर्श संघ इक्यान शैक्षिक जागरणका लागि मानक संस्थाकै रुपमा कार्य गर्दै आएको छ। उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई करिअर काउन्सिलिङदेखि विदेश जाने प्रक्रियासम्मका सम्पूर्ण परामर्श दिने कार्यमा इक्यानको सम्पूर्ण टिम क्रियाशील छ। यसैबीचमा इक्यानले माघ २ देखि ५ गतेसम्म भर्चुअलमार्फत् शैक्षिक मेलाको आयोजना गरेको छ। कोरोना प्रकोपका बीच काठमाडौंमै आएर शैक्षिक परामर्श लिनुपर्ने बाध्यताबाट विद्यार्थी र अभिभावकलाई मुक्त गराउने प्रयास स्वरुप भए शैक्षिक मेलाका सन्दर्भमा नेपाल शैक्षिक परामर्श संघ इक्यानका प्रथम उपाध्यक्ष देवीदास भट्टराईसँग गरिएको कुराकानी:
शैक्षिक मेला सकियो, यसबाट अभिभावक र विदेश पढ्न जान चाहने विद्यार्थीले कसरी लाभान्वित भए?
–नेपाल शैक्षिक परामर्श संघ इक्यानले कोरोना महामारीलाई दृष्टिगत गरेर नै १४औं शैक्षिक मेला भचुअलमार्फत् आयोजना गरेको हो। १३औं संस्करणसम्म भौतिक रुपमा उपस्थित भएर भव्य रुपमा आयोजना गरिएको सर्वविदित छ। तर, कोरोना प्रकोपका कारण १४औं फेयर भर्चुअल्ली गरियो। र, हरेक दृष्टिले इक्यान शैक्षिक मेला सफल भयो। यसअघि अभिभावक र विद्यार्थीले फिल्डमै गएर बुझ्नुपर्थ्याे। यसपटक उहाँहरूले घरमै बसेर जानकारी लिन पाउनु भयो। पहिले काठमाडौंमा फेयर हुन्थ्यो, काठमाडौं बाहिरका विद्यार्थीलाई उपस्थित हुन समस्या पनि हुन्थ्यो। तर, यसपालि घरमै बसेर हेर्न र बुझ्न पाउनुभयो। घरपरिवारलाई पनि यस्तो यस्तो रहेछ भनेर देखाउन पाउनुभयो। एउटा मात्रै कन्सल्ट्यान्सीको मात्र नभएर एकैपटक धेरै कन्सल्ट्यान्सीका बारेमा जानकारी लिनुभयो। विद्यार्थीको भिजिट हेर्दा पनि इक्यान शैक्षिक मेला एकदम राम्रो भएको छ। पछि गएर उहाँहरू कुन देश जान कुन कन्सल्ट्यान्सी छान्नुहुन्छ, त्यसका लागि अफिस जान सक्नुहुन्छ। भाइबर र मेसेन्जरबाट पनि परामर्श लिएर निर्णयमा पुग्न सक्नुहुन्छ। मेला समग्रमा उपलब्धिमुलक भयो।
कोरोना महामारीका कारण शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील व्यवसायीलाई कस्तो असर पर्यो? अब आर्थिक क्षति र पुनरोत्थानको स्थितिमा व्यवसायीहरू आइपुग्नु भएको हो?
–कोरोना प्रकोप पनि एउटा ‘लाइन’मा जाँदै छ। भ्याक्सिन पनि आइरहेको छ। यसले विस्तारै विश्राम लिन्छ, नियन्त्रण हुन्छ भन्नेमा म विश्वस्त छु। नेपालमा धेरै विद्यार्थीहरू परीक्षा दिएर उच्च शिक्षा अध्ययनको तयारीमा हुनुहुन्छ। अब कक्षा १२ को रिजल्ट पनि हुन्छ। स्नातक तहको पनि रिजल्ट आउछ। ती सबै विद्यार्थी अहिले ‘होल्ड’मा बसेको स्थिति छ। एक वर्षदेखि जान नपाएका विद्यार्थी ‘होल्ड’मै छन्। विद्यार्थीहरू विदेश जान लालायित छन् भन्ने हामीले बुझेका छौं। अब अन्तर्राष्ट्रिय जगतमा पनि विस्तारै कोरोनाको प्रकोप व्यवस्थापन हुँदै जाने छ। र, नेपालमा शैक्षिक परामर्शको क्षेत्र क्रमशः आफ्नो लयमा फर्किनेमा म विश्वस्त छु।
कतिपय देशमा कोरोनाको दोस्रो लहर शुरु भएको छ। यस्तो अवस्थामा अध्ययनका लागि विदेश जान कतिको सुरक्षित हुन्छ? विद्यार्थी र अभिभावकको प्रतिक्रिया कस्तो पाउनु भएको छ?
–कोरोना प्रकोप अझै पनि घट्ने र पुर्ण रुपमा निर्मुल हुने परिवेश निर्माण भइसकेको छ। यसबीचमा अभिभावक र विद्यार्थीहरूले नेपालमै पढ्ने हो कि भनेर प्रयास गर्नुभएको पनि छ। तर, आफूले रोजेको विषय पढ्न नपाउने, सुविधा नपाउने आदि कारणले विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न बाहिर जान तत्पर हुनुहुन्छ। नेपालमा सबै विद्यार्थीले पढ्न पाउने परिस्थिति पनि छैन। सोचेजस्तो विषय पढ्न एड्मिशन पाइँदैन। पढ्न नपाएपछि विदेश जानुपर्ने अवस्था पनि छ। कतिले विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाका लागि पनि पढ्नका लागि विदेश जाने सोच निर्माण गरेको पाइन्छ। त्यो हिसाबले हेर्दा एक वर्ष ढिलाई भयो, विद्यार्थीलाई मर्का पर्यो। पढाई अलिकति ढिलो पनि भयो। तर पनि उच्च शिक्षाका लागि विदेश नै जानुपर्छ भन्नेमा उहाँहरू हुनुहुन्छ। धेरै विद्यार्थी तथा अभिभावकहरूसँग हामीले अन्तरक्रिया गरेका छौं। अन्तरक्रियामा उहाँहरूले विश्वव्यापी रुपमा मान्यता प्राप्त शिक्षा लिनका लागि विदेश जाने पक्षमै रहेको बताउनुहुन्छ। मार्केटमा धेरै असर परेको छैन। यसैगरी, कोभिड–१९ का कारण धेरै एजुकेटेड विद्यार्थीहरूको रोजगार गुम्यो। अब ती विद्यार्थीहरू पनि थप अध्ययनका लागि विदेश जान चाहनुहुन्छ। यस हिसाबले नेपालमा नयाँ विद्यार्थीहरू पनि अध्ययनका लागि विदेश जाने निष्कर्षसहित आउनु भएको छ।
कोरोना प्रकोपका कारण विश्वका विभिन्न देशमा पढिरहेका नेपाली विद्यार्थीहरूलाई कस्तो असर परेको छ? महिनौंसम्म लकडाउन हुँदा विद्यार्थी र अभिभावकले इक्यानसँग कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो?
–विश्वका सबै देश प्रभावित भएका छन्। नेपाली विद्यार्थी अध्ययनरत तेश्रो मुलुकमा पनि कोरोनाको असर परेकै छ। तर पनि कोरोनाबाट प्रभावित भएको विषयमा नेपाली विद्यार्थीहरूबाट त्यति धेरै गुनासो आएन। गुनासो आएको खण्डमा हामीले आवश्यक पहल गर्ने पक्ष छँदैछ। विदेशमा रहेका कसै–कसैको पार्टटाइम जागिर थियो। उनीहरूको पार्टटाइम जागिरमा समस्या आयो। कतिपयले घरमै बसेर काम गरेको पाइयो। विद्यार्थीहरू खर्च जुटाएर मात्रै पढ्नका लागि विदेश गएका हुन्छन्। पार्टटाइम रोजगारी गर्नेहरूलाई केहि महिना समस्या आयो। पछि सेटल हुँदै गयो। विदेशमा अहिले धेरै काम अनलाइनबाटै गर्न सकिन्छ। समस्या आउँदा–आउँदै पनि विद्यार्थीले ठूलो समस्या परेकाले टिक्नै सकिएन भनेर चाँहि गुनासो गरेको देखिएन। जापान, अष्ट्रेलियाजस्ता देशले विदेशी विद्यार्थीलाई राहत प्याकेज जस्तै नगद नै बाँड्ने, सहयोग गर्ने युनिभर्सिटी कलेजहरूले शुल्क छुट गर्ने अनि खानेबस्ने खर्चपछि तिर्दा गर्ने सिस्टम ल्याए। त्यसले गर्दा धेरै समस्या आएन।
पूर्वतयारी स्वरुप इक्यानले के कस्ता पहल गरेको थियो?
–इक्यानले आफ्ना सदस्य संस्थाहरूमार्फत् विदेशमा रहेका विद्यार्थीहरूको डाटा माग्यो। कहाँ कसलाई के समस्या छ, र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर डाटा मगायौं। त्यसका आधारमा समस्या भएको अवस्थामा विदेशमा रहेका नेपाली नियोग, राजदूताबास अन्य निकायहरूसँग समन्वय गरेर विद्यार्थीको समस्या समाधानका पहल ग¥यौं। इक्यानले कोभिडको बीचमा विदेशमा रहेको राजदूतसँग भर्चुअल मिटिङ पनि गरेको थियो। त्यसरी हामीले विद्यार्थीहरूलाई सहयोग र आवश्यक परामर्श लिने व्यवस्था मिलाएका थियौं।
संकटको बेला नागरिकले सरकारको भरोसा गर्छन्। शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशील व्यवसायीहरू पनि कोरोना संटकबाट प्रताडित भएको स्थिति थियो। यस्तो परिवेशमा राज्यको तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो, र कस्तो सहयोग पाउनुभयो?
–राज्यको तर्फबाट धेरै सहयोगको आशा गरिएको थियो। तर, नेपाल राष्ट्र बैंकमा इक्यानको तर्फबाट पत्र बुझायौं। यस्ता–यस्ता समस्या छन् भनेर प्रष्ट पारेकै हौं। अनि राष्ट्र बैंकले शैक्षिक परामर्श क्षेत्रलाई पनि अति प्रभावित क्षेत्रको सूचीमा राख्यो। त्यसले गर्दा इक्यानका सदस्य संस्थाहरूलाई ऋण लिन सजिलो भयो। ‘सफ्ट लोन’को व्यवस्था भयो। अहिले कति कन्सल्ट्यान्सी सञ्चालकहरूले त्यो लिन लिनका लागि प्रक्रिया अघि बढाइसक्नु भएको छ। त्यो राम्रो सहयोग भएको हो। अरु ठूलो सहयोग भएन। घरबेटीहरूले इक्यानको पत्रको आधारमा भाडा छुट दिएर सहयोग गर्नुभयो।
कोरोना प्रकोपका बीच अध्ययनका लागि विदेश जाने विद्यार्थीहरू र अभिभावकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
–म त सकेसम्म नेपालमै पढ्नुहोस् भन्छु। अभिभावक र विद्यार्थीले चाहेको विषय नेपालमै उपलब्ध छ भने स्वदेशमै अध्ययन गर्दा राम्रो। अनि नेपालमा सहज रुपमा कुनै विषय पढ्न पाइँदैन भने मात्रै विदेश जान सुझाव दिन्छु। नेपालमा पनि राम्रा–राम्रा कलेजहरू छन्। त्यति हुँदा–हुँदै पनि पढ्नका लागि एड्मिशन नपाउने अवस्था भए सुरक्षा मापदण्ड अपनाएर विदेश जान सक्नुहुन्छ। ग्लोबल प्रतिस्पर्धाको समय हो यो, विदेश गएर पढेर नेपाल फर्किएर केही गर्नुस् भन्न चाहन्छु।