नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको छ। काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो।
आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ। प्रचण्ड–नेपाल समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ। त्यसका लागि पौने ११ बजे नै आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ।
स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने छ।
त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने छ।मुख्य जुलुस पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने बताइएको छ।
माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन्। डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन्। लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन्।
त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने छन्। प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट शुरू हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन्।
त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसमा देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपाने रहने छन्। वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ तर कानुनी रूपमा फुटिसकेको भने छैन।प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ।