उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको हो।
मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन्। ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन्। प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ।
यसअघि १२ पुसमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो। आजको विरोधसभाका लागि व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएकाले सो सडकखण्डमा गाडी चलेका छैनन्।
स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने छ।
माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन्। डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन्। लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन्।
त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने छन्। प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट शुरू हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन्।
त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसमा देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपाने रहने छन्। वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ तर कानुनी रूपमा फुटिसकेको भने छैन।प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ।