भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १ सय ६३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ। यहाँ कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ।
विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ५ सय ४५ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड छ लाख २५ हजार ४ सय २८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ८३ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ।
हाल भारतमा एक लाख ८८ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। भारतमा एक साता अघिदेखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ। सो दिनदेखि हालसम्म १० लाख व्यक्तिले खोप लगाइसेकेका छन्।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २ सय २७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७ सय ७२ को मृत्यु भइसकेको छ। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १४ लाख ४८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। बुधबार एकै दिनमा मात्र आठ लाख २ सय ४२ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ।