नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भुषालले ओलीले संविधानलाई च्यातच्युत पार्ने प्रयास गरेकाले उनलाई पराजित गर्नैपर्ने भएको बताएका हुन्।
उनले बैशाखमा चुनाव नहुने र यस्तो भ्रममा नपर्न बताए। ओलीले दुई तिहाइ मत ल्याउने सुनिश्चित नहुँदासम्म चुनाव नगराउने उनले बताए।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चाए जनताले चाँडै इतिहासको कठ्घरामा उभ्याउने नेता भुषालले चेतावनी दिएका छन्।
अहिले ओलीसँग साइवर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति आन्दोलनको पक्षमा रहेको उनले बताए। नेता भुषालले सेटिङका कारण अदालतले आफ्नो पक्षमा निर्णय गर्छ भन्ने नसोच्न ओलीलाई आग्रह पनि गरे।