वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाको पत्थरीको शल्यक्रिया गरिएको छ। स्टोन भएपछि अस्वस्थ भएका डा. कोइरालाको धुम्बराहीस्थित ह्याम्स अस्पतालमा शल्यक्रिया गरिएको हो।
डा. कोइरालाको स्वास्थ्यमा बुधबार समस्या देखिएपछि ह्याम्स हस्पिटलमा भर्ना गरिएको हो। डा. कोइरालाको उपचार चलिरहेको अस्पतालले जानकारी दिएको छ।
प्रा.डा. प्रेमराज ज्ञवाली, डा. सुमन चापागाई र डा. सुजित पौडलको टोलीले कोइरालाको शल्यक्रिया गरेको ह्याम्स अस्पतालले बताएको छ।
मेडिकल काउन्सिलका अध्यक्ष डा. कोइरालाको शल्यक्रियापछि अवस्था सामान्य रहेको अस्पताल श्रोतले जानकारी दिएको छ।
नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ। कोइरालाले त्रिवि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रुपमा काम शुरु गरेका हुन्।
सन् २००१ देखि २००९ सम्म शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख भएर सेवा प्रदान गरे।
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा काम गरिसकेका डा. कोइरालालाई नेपालका मुटु रोगीले भगवानको रुपमा सम्मान गर्छन्।