बलिउड सेलिब्रेटी सलमान खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’ नेपाली फेसन पारखीहरूका लागि निकै लोकप्रिय छ। बिइङ ह्युमनको नेपाली फ्रेञ्चाइज संस्थाले यो ब्राण्डलाई नेपालको दुई वटा प्रमुख शहरमा विस्तार गरेको छ।
काठमाडौंको दरबारमार्ग र पोखरामा रहेको यो ब्राण्डलाई चितवन लगायतका विभिन्न मुख्य शहरहरूमा विस्तार गर्ने लक्ष्य ‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ले राखेको छ। व्यापारका साथै सामाजिक कार्यमा पनि संलग्न रहने उद्देश्यले बिइङ ह्युमन सञ्चालन गरिएको हो।
सामाजिक कार्यमा सक्रिय फाउण्डेशन
बिइङ ह्युमन भन्ने बित्तिकै मानिसले क्लोथिङ स्टोर भन्ने सोच्छन्। तर, बिइङ ह्युमन एउटा क्लोथिङ मात्रै नभएर फाउण्डेशनका रुपमा सक्रिय रहेको बिइङ ह्युमन क्लोथिङ नेपालका निर्देशक एवं सञ्चालक सुदिपचन्द्र बख्रेलले बताए।
‘सामाजिक कार्यमा निरन्तर लागिरहेका नायक सलमान खानले सामाजिक कार्यमा नै सक्रिय रहन यो फाउण्डेशन सञ्चालन गरेको बुझ्न जरुरी छ, यसको माध्यमबाटै विश्वभर विभिन्न किसिमका अभियान चलाउने नायक खानको लक्ष्य छ,’ बख्रेलले भने।
सलमान खानको फिल्म ‘जय हो’को सन्दर्भ निकाल्दै बख्रेलले भने, ‘सलमान खानको फिल्म जय हो मा उनले एक जनालाई कसैले मद्दत गर्छ भने धन्यवाद भन्ने होइन त्यसको बदलामा अन्य तीन जनालाई मद्दत गर्नुहोस्।’
सलमान खानले आफ्नो फिल्मबाट भएको आम्दानीबाट पनि मानिसहरूलाई सहयोग गरेर सामाजिक कार्य गर्न प्रेरित गर्ने गरेका छन्।
सलमानले आफ्नो ९० प्रतिशत आयात नै च्यारिटीमा लगाउने गरेको र बिइङ ह्युमन नेपालले पनि त्यही शैलीलाई अपनाउने बख्रेलले बताए।
ब्राण्ड एकदमै राम्रो भएको बताउँदै निर्देशक बख्रेलले सामान्य मानिसले पनि प्रयोग गर्न सक्ने ब्राण्डको रुपमा यसलाई अघि बढाइएको बताए। ‘अझै पनि सस्तो बनाउन कोसिसमा हामी लागिरहेका छौँ,’ उनले भने।
धेरै उपभोक्ताहरूले मंहगो भनेर प्रयोग गर्न इच्छा नदेखाएको बताउँदै उनले अझै सस्तो मूल्यमा सामान बिक्री गर्ने कोसिसमा आफ्नो टिम रहेको प्रष्ट पारे।
सलमान खान र बिइङ ह्युमनप्रति ग्राहकहरूलाई आकर्षित गर्न र धेरै मानिसहरूलाई सलमान खानको यो सामाजिक अभियानमा संलग्न गराउन बिइङ ह्युमन फाउण्डेशन नेपालको सहयोग गर्ने उनले बताए।
‘बिइङ ह्युमनको मुख्य उद्देश्य भनेको नै गरीब दुखीको सहयोग गर्ने हो, बिइङ ह्युमन काठमाडौंको दरबारमार्गको क्यापिटल मलमा छ, यसको ब्राञ्च पोखराको ट्रेड मलको पहिलो तल्लामा पनि छ,’ बख्रेलले भने।
यो ब्राण्ड सन् २०१४ मा राइजिङ मलमा स्थापित भएको थियो। हाल बिइङ ह्युमन क्लोथिङ इण्डियामा सलमान खान मालिक छन्, पहिला उनी त्यहाँका ब्राण्ड एम्बास्डर थिए।
शिक्षा र स्वास्थ्यमा बिइङ ह्युमनको सहयोग
बिइङ ह्युमनले नेपालमा शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता र महत्त्व दिँदै त्यहीअनुसार अभियान सञ्चालन गर्दै आएको छ। बालबालिकाहरूलाई शिक्षाको ज्योति प्रदान गर्ने महान् र नवीन उद्देश्यका साथ बिइङ ह्युमन अघि बढिरहेको छ।
बिइङ ह्युमनले ‘एसएस–२०२१’ अभियान सञ्चालन गर्दै छ। ‘यसका लागि सामान आयात भइरहेको छ, त्यसपछि पनि हामीले एनजिओ, आइएनजिओ लगायतका संस्था र व्यक्तिगत सहयोग पनि गर्ने लक्ष्यले काम गरिहेका छौं,’ बख्रेलले भने।
नयाँ व्यवस्थापनका साथ नयाँ शैलीमा काम गर्ने निर्णय गरेको उनले बताए। यसअन्तर्गत ‘टप भिआइपी–१००’, सन् २०१४ देखि नै सहयोग गर्दै आएका सहयोगीहरूलाई बिइङ ह्युमनले आफ्नो सदस्य बनाउने उनले बताए। सदस्यहरूलाई भ्रमण लाने, कार्यक्रममा सम्मान गर्ने र सामान खरिदमा केही प्रतिशत छुट दिने लगायतका कार्यक्रम समावेश गरिएको छ।
यसैगरी, सलमान खानलाई नेपाल ल्याउने कार्यक्रम पनि बिइङ ह्युमनले राखेको छ। ‘ग्राहकलाई पनि गोल्डेन र प्लाटिनम सदस्य बनाउने गर्छौं, भिआइपी १०० सदस्यमध्येबाट कारणबस निस्किनु परेमा गोल्डेन र प्लाटिनम सदस्यबाट छानेर भिआइपी १०० मा राखिने छ, भिआइपी १५० देखि २०० पनि बनाउन सकिन्छ,’ बख्रेलले भने।