खेलाडीहरुको प्रदर्शनबाट स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यान असन्तुष्ट बनेका छन्। पछिल्लो पटकको युई कोर्नेल्लासँगको खेलपछि कोएम्यानले खेलाडीहरुमाथि आक्रोश पोखेका हुन्।
कोपा डेल रेको राउण्ड अफ ३२ मा बार्सिलोना र कोर्नेलाबीच प्रतिस्पर्धा भएको थियो। आफूभन्दा तल्लोस्तर क्लबलाई पराजित गर्न बार्सिलोनाले ठूलो संघर्ष गर्नुपरेको थियो। उक्त खेलमा बार्सिलोनाका खेलाडीले २ पेनाल्टी पाउँदा पनि गाले गर्न असफल भए। बार्सिलोना २ पेनाल्टीमा चुकेका कारण खेल अतिरिक्त समयमा धकेलिएको थियो।
‘हामीले यस सिजन १२ पेनाल्टी पाइसकेका छौं र तीमध्ये सुपर कपको सुटआउटसहित ७ पेनाल्टीमा हामी चुकेका छौं,’ रिसालु भावमा कोएम्यानले भने।
‘यो त अति भयो। लियोनल मेसी भएनन् भने हाम्रो पेनाल्टी प्रहार गर्ने खेलाडी को हो त?,’ प्रतिप्रश्न गर्दै कोएम्यानले भने, ‘त्यस्तोमा हामीलाई अरु नै कसैको खाँचो छ। हामीले यस विषयमा हिजो र आज पनि काम गरिरहेका छौं।’
‘हामी यो अवस्था स्वीकार गर्न सक्दैनौं, केहि त परिवर्तन गर्न गर्नैपर्छ,’ उनले भने, ‘हामी पेनाल्टी कसले हान्ने भनेर खेल पहिले नै निधो गर्छौं। दुई खेलाडीको छनोट गरिनेछ तर, अन्तिम निर्णय कप्तानले नै लिनेछन्। मलाई खेलाडीहरु गम्भीर नभएको महसुश भइरहेको छ।’
कोएम्यानले खेलाडीबाट लापारवाही भएको आरोप पनि लगाए। ला लिगामा इल्चेसँगको खेलबारे प्रतिक्रिया दिँदै उनले खेल सहज नभएको बताए। उक्त खेलका लागि आफूले बलियो मानसकिता भएको खेलाडी छनोट गर्ने र खेल आफ्नो पक्षमा पार्ने जानकारी दिए।