गैरआवासीय नेपाली संघका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष कुल आचार्यले एनआरएनए नेतृत्वले संस्थाका सबैको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्ने प्रण गर्नुपर्ने बताएका छन्।
लामो समयदेखि सहकार्य गर्दै आएका एनआरएनए अध्यक्ष कुमार पन्तको प्रशंसासहित सुझाव दिँदै सल्लाहकार आचार्यले सफल नेतृत्व गर्नका लागि अब सबैलाई एकीकृत गरेर अघि बढ्न आग्रह गरेका हुन्।
गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सल्लाहकार आचार्यले संस्थामा सबै पक्षको कुरा सुन्ने र सबैको सहअस्तित्व स्वीकार्ने नेतृत्वले नै संस्थालाई नयाँ उचाई दिन सक्ने बताएका हुन्।
असहमतिका स्वरहरू सुन्न र त्यसलाई ग्रहण गर्न आग्रह गर्दै सल्लाहकार आचार्यले यो विशेष महाधिवेशनमा सहमति हुन सक्ने कुरामा सहमति गर्ने र सहमति नभएका बुँदाहरूलाई आगामी महाधिवेशनबाट किनारा लगाउनुपर्ने कुरामा अध्यक्ष पन्तले सबैका कुरा सुन्ने प्रण गरेर नेतृत्व क्षमता र कौशल देखाएको बताएका छन्। सबैलाई विश्वासमा लिएर अघि बढेर सफल नेतृत्वको रुपमा स्थापित हुन पन्तलाई आचार्यले सुझाव दिए।
‘पात किन हल्लिन्छ, हावा लागेर, संस्थालाई दिने सल्लाह, सुझावलाई संस्थाको हितकै लागि हो भनेर नेतृत्वले बुझ्नुपर्छ,’ आचार्यले भने।
गैरआवासीय नेपालीका लागि नागरिकता, सम्पत्ति लगायतका मुद्दाहरूमा नेपालमा भइरहेका केही प्रयासहरू अझै नटुङ्गिएकाले त्यसमा पनि ध्यान दिनुपर्ने सल्लाहकार आचार्यको जोड छ।
‘भविष्यका हाम्रा सन्तति विदेशिनु नपरोस् भन्नका लागि हामीले केही गर्नुछ,’ आचार्यले भने, ‘अर्कोतिर नेपालको विकासमा साझेदार बन्ने कुरामा पनि हामी अघि बढ्नुपर्ने छ।’
संस्थाभित्रको विवाद मिलाउन आचार्यले खेलेको संयोजनकारी भूमिकाको महासचिव हेमराज शर्माले पनि प्रशंसा गरेका छन्।
आइतबारदेखि शुरु भएको दुई दिने विशेष महाधिवेशनको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका छन्। उनले गैरआवासीय नेपालीहरूले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाँझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन्।