कोभिड–१९ को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको संख्या ३ सय २७ पुगेको प्रेस संयोजक, कोभिड–१९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली सङ्घका संयोजक चिरन शर्माले जानकारी दिए।
सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ तीमध्ये ५३ हजार ४ सय ३२ जना कोरोनामुक्त भएका छन्। यो कूल संक्रमितको ९५ प्रतिशत हो। गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ९ सय ९४ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार १ सय ८० जना छन् भने दुई लाख ६३ हजार ७ सय ३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।
एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित हुने गरेको जनाएको छ। सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए।
सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार संक्रमणमुक्त हुने आँकलन गरिएको डा सापकोटाले बताएका हुन्। स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौँ मुलुकमा खोप अभियान शुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ।